अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिए

अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिए
रसुवा भदौ ३ गते:

निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बस्तीमुनिको जमिन भासिन थालेपछि पहिरोले घर पुरिन सक्ने जोखिम देखिएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा जोखिममा रहेका परिवारलाई सोही वडाको कफ्थलीटारस्थित सार्वजनिक स्थानमा सारिएको हो।
स्थानान्तरण गरिएका १० घरधुरीमा १७ पुरुष र १४ महिला रहेका छन्। उनीहरूको अस्थायी बसोबासका लागि कफ्थलीटारमा १२ वटा टेन्ट निर्माण गरी सुरक्षित व्यवस्थापन गरिएको छ।
प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी तथा जनप्रतिनिधिसँग समन्वय गर्दै जोखिममा रहेका परिवारको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको हो।
अविरल वर्षा अझै जारी रहेकाले बस्ती आसपासको जमिनमा थप क्षति हुनसक्ने जोखिम कायमै रहेको स्थानीयले बताएका छन्। सम्भावित मानवीय क्षति रोक्न जोखिमयुक्त क्षेत्रमा रहेका अन्य परिवारको अवस्थासमेत निगरानी गर्नुपर्ने देखिएको छ।