बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुन
मनाेज शाह जितपुर बारा भदौ ३ गते:
नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटना मानवतामाथिकै कलंक भएको बताइन्। उनले बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा राज्यले कडा नीति अपनाउनुपर्नेमा जोड दिइन्।
सांसद खातुनले अपराधीलाई उमेर, पहुँच वा प्रभावका आधारमा उन्मुक्ति दिन नहुने बताउँदै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखिन्।
उनले बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा ‘जिरो टोलरेन्स’ नीति लागू गर्न माग गर्दै बलात्कारीलाई कडा कारबाही हुने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
“बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा जिरो टोलरेन्स पोलेसी लागू गरियोस् र बलात्कारीलाई कानुन बनाई फाँसीको सजाय सुनिश्चित गरियोस्,” उनले प्रतिनिधिसभामा भनिन्।
सांसद खातुनको मागसँगै पछिल्लो समय बालिका तथा महिलामाथि हुने यौन हिंसाविरुद्ध कडा कानुनी कारबाही र मृत्युदण्डसम्बन्धी बहस फेरि चर्किएको छ।