महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको माग

महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको माग
स्पर्श खबर जितपुर बारा भदौ २ गते:

जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा आयोजना हुने श्री महावीरी झण्डा मेलालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न शान्ति सुरक्षाको माग गर्दै मेला समितिले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ।


श्री महावीरी झण्डा मेला समिति–२०८३ ले मंगलबार बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाउँदै मेलाका क्रममा आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको हो।
समितिका अनुसार जीतपुरमा विगत ३८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको महावीरी झण्डा मेला धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत कार्यक्रम हो। यस वर्ष पनि २०८३ जेठ ४ गतेदेखि रात्री नाचगानका कार्यक्रम सुरु भई जेठ ५ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ।


मेलामा ठूलो संख्यामा श्रद्धालु तथा सर्वसाधारणको सहभागिता हुने भएकाले सम्भावित भीड व्यवस्थापन, सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न प्रशासनको सहयोग आवश्यक रहेको समितिले जनाएको छ।
मेलालाई शान्तिपूर्ण, भव्य र सफल बनाउन समिति तथा करिब ३०–४० जना युवा स्वयंसेवक सक्रिय रहेको ज्ञापनपत्रमा उल्लेख छ। स्वयंसेवकमार्फत मेला व्यवस्थापनमा सहयोग गरिने भए पनि समग्र शान्ति सुरक्षाका लागि प्रशासनको प्रभावकारी उपस्थिति आवश्यक रहेको समितिको भनाइ छ।


ज्ञापनपत्र बुझाउने कार्यक्रममा मेला समितिका अध्यक्ष रुपेश गुप्ता, कुणाल गिरी, अम्बरनाथ यादवलगायत समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
समितिले प्रशासनसँग आवश्यक सुरक्षा जनशक्ति परिचालन, भीड व्यवस्थापन तथा मेलालाई मर्यादित र सुरक्षित बनाउन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।