विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियान

विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियान
स्पर्श खबर जितपुर बारा भदौ २ गते:

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।


सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरु गरिएको पार्टीले जनाएको छ। उज्यालो नेपालले विद्युत् महसुलमा लगाइएको कर खारेज गर्नुपर्ने तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने माग अघि सारेको छ।
बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै पार्टीले जनताको आवाजलाई एकीकृत गरी सरकारलाई जवाफदेही बनाउन अभियान सञ्चालन गरेको जनाएको छ।


विद्युत् केवल राजस्व संकलनको माध्यम नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार भएकाले विद्युत्माथि लगाइएका अनावश्यक कर हटाउनुपर्ने उज्यालो नेपालको तर्क छ। विद्युत्लाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउन भ्याट पूर्ण रूपमा खारेज गर्नुपर्ने पार्टीको माग छ।
सरकारले विद्युत् खपतलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा उल्टै नागरिकमाथि करको भार थपेको भन्दै उज्यालो नेपालले विरोध जनाएको छ।
पार्टीले विद्युत्को भ्याट खारेजी, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुली, स्वदेशी बिजुली खपतलाई प्रोत्साहन, इन्डक्सन चुलो वितरण तथा प्रयोगलाई प्रोत्साहन र ग्यासको आपूर्ति सहज बनाउनुपर्ने माग राखेको छ।
हस्ताक्षर संकलन अभियानमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नवीन लामा, सरिता लामालगायतको सहभागिता रहेको थियो।