मदरसा इस्लामिया नसीमनगर जितपुरमा अयुब मन्सुरी पुनः सर्वसम्मत अध्यक्ष, शैक्षिक विस्तारसहित नयाँ योजनाको घोषणा
मनाेज शाह जितपुर बारा श्रावण २ गते:
जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा इस्लामिया नसीमनगर, जितपुर मा एकदिने अध्यक्ष चयन सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले वर्तमान अध्यक्ष अयुब मन्सुरीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी सुम्पिएको छ।

क्षेत्रका बुद्धिजीवी, धर्मगुरु, समाजसेवी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न सम्मेलनको शुभारम्भ पवित्र कुरआनको तिलावतबाट गरिएको थियो। त्यसपछि विगत ३ वर्ष १० महिनाको कार्यसम्पादन तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अयुब मन्सुरीको नेतृत्वमा मदरसाले शैक्षिक र प्रशासनिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिइयो।
प्रतिवेदनअनुसार मदरसामा हिफ्ज (कुरआन कण्ठस्थ) कक्षा एक तहबाट दुई तहमा विस्तार गरिएको छ भने अध्ययन कक्षाहरू कक्षा ५ बाट कक्षा ६ सम्म विस्तार गरिएको छ। व्यवस्थापन, शैक्षिक गुणस्तर र संस्थागत विकासमा भएका प्रगतिलाई उपस्थित सहभागीहरूले सकारात्मक रूपमा मूल्यांकन गरेका थिए।

प्रतिवेदनमाथिको छलफलपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको थियो। सहभागीहरूले अयुब मन्सुरीले इमानदारी, पारदर्शिता र कुशल नेतृत्वका साथ सफल कार्यकाल पूरा गरेको उल्लेख गर्दै आगामी कार्यकालका लागि पनि उहाँलाई नै अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। प्रस्तावमा सर्वसम्मति जुटेपछि उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो।
पुनः निर्वाचित अध्यक्ष अयुब मन्सुरीले आफ्नो सम्बोधनमा मदरसाको शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाउने, अध्ययन कक्षालाई कक्षा ६ बाट ८ सम्म विस्तार गर्ने, आधुनिक शैक्षिक पूर्वाधार विकास गर्ने तथा संस्थाको समग्र उन्नतिका लागि नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्मेलनले मदरसाको नयाँ कार्यसमिति पनि चयन गरेको छ। उपाध्यक्षमा शेख शमिम, सचिवमा नाजिम-ए-आला मौलाना हाफिज तथा कारी मोहम्मद हसन साहब मिफ्ताही चयन हुनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा असरार ठकराई, ताहिर मियाँ, सलामुन्निसा, सलिमा खातुन, निजामुद्दिन, मेहताब मियाँ, शेख रइस आजम र शेख हाफिज अरमान आलम चयन भएका छन्।
सल्लाहकार समितिमा रफिउ अहमद, हाशिम मियाँ ठकराई, मुगल आजम, नुरुल्लाह अन्सारी तथा हाजी इर्शाद अन्सारी रहनुभएको छ।
कार्यक्रमको समापनमा मदरसा इस्लामिया नसीमनगरका पूर्व नाजिम मौलाना जहीरुद्दीन साहब मिफ्ताहीले मदरसाको निरन्तर प्रगति, आपसी सद्भाव, धार्मिक तथा गुणस्तरीय शिक्षाको विकासका लागि विशेष दुआ गर्नुभएको थियो।