जितपुरसिमरा औद्योगिक करिडोरमा गृहमन्त्रीको कडा अनुगमन, प्रदूषण र अतिक्रमणबारे सरकार गम्भीर
मनोज कुमार शाह जितपुर बारा ३२ गते:
जितपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका उद्योग हरूमा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगबाट वातावरणीय प्रदूषण बढेको, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको र स्थानीय नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो चुलिएपछि गृहमन्त्री सुधन गुरुङले बुधबार स्थलगत अनुगमन गर्नुभएको छ।

गृहमन्त्री गुरुङले जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा सञ्चालित जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल, गणपति वनस्पति घिउ, नन्दन घिउ, शिव शक्ति घिउ, राजेश मेटल तथा निपोभेट नारायणी रोलिङ नारायणी स्पार्क लगायत उद्योगहरूको अवस्था निरीक्षण गर्दै स्थानीयवासी, जनप्रतिनिधि, सरकारी अधिकारी तथा उद्योग प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गर्नुभयो।अनुगमनका क्रममा स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुवाँ, दुर्गन्धयुक्त फोहोर तथा प्रदूषित पानीका कारण आसपासका बस्ती प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, किसान तथा मजदुरमा श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी लगायत विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्।स्थानीयवासीले केही उद्योगले वातावरणीय मापदण्ड पालना नगरेको, औद्योगिक फोहोरको उचित व्यवस्थापन नगरेको तथा सार्वजनिक सम्पत्तिमा दबाब सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषी उद्योगमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।बारा जेन्जीका अध्यक्ष सम्राट उपाध्यायले उद्योगजन्य प्रदूषणका कारण स्थानीय नागरिक जोखिममा परेको दाबी गर्नुभयो। उहाँका अनुसार केही दिनअघि गणपति वनस्पति घिउ उद्योगबाट निस्किएको भनिएको प्रदूषित पानीका कारण बकुलिया क्षेत्रका एक बालकको मृत्यु भएको भन्ने विषयमा स्थानीयवासीले गम्भीर गुनासो उठाएका छन्। उक्त दाबीबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि तथा अनुसन्धान आवश्यक रहेको उहाँले बताउनुभयो।अनुगमनपछि गृहमन्त्री गुरुङले वातावरणीय मापदण्ड उल्लङ्घन, सार्वजनिक सम्पत्ति अतिक्रमण तथा स्थानीय नागरिकको स्वास्थ्यमा असर पुग्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। प्राप्त गुनासालाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै उहाँले सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन, वातावरणसम्बन्धी निकाय तथा अन्य सरोकारवालामार्फत तथ्यगत अध्ययन गरी कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने बताउनुभयो।