३८ वर्षे परम्परा जोगाउँदै जितपुरमा यसपालि भव्य रूपमा लाग्ने महावीरी झन्डा मेला, १२ सदस्यीय समिति गठन
स्पर्श खबर जितपुर बारा श्रवण ५ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको सभापतित्वमा बसेको बैठकले यस वर्ष महावीरी झन्डा मेला धुमधामका साथ सञ्चालन गर्ने निर्णय गर्दै सर्वसम्मत रूपमा १२ सदस्यीय महावीरी झन्डा मेला समिति गठन गरेको छ।

समितिको अध्यक्षमा रुपेश कुमार गुप्ता, उपाध्यक्षमा रोशनकुमार गुप्ता, कोषाध्यक्षमा निरजकुमार गुप्ता, सचिवमा रविन्द्र कुमार सहनी, सहसचिवमा राजकुमार शाह चयन भएका छन्। सदस्यहरूमा संजय शाह कानु, मन्दिप कुमार गुप्ता, शिव गुप्ता, दिलिप कुमार रौनियार, उपेन्द्र कुमार ठाकुर, रवि कुमार गुप्ता र बिहारी कुमार गुप्ता रहेका छन्।
बैठकले विगत ३८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको महावीरी झन्डा मेलालाई यस वर्ष अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने सहमति गरेको छ।

मेलामा भक्तजनहरूको मनोरञ्जनका लागि सांस्कृतिक नाच कार्यक्रम राखिने तथा तीन स्थानबाट भव्य झाँकी निकालिने निर्णय गरिएको छ।
समितिका सचिव रविन्द्र कुमार सहनीका अनुसार विगत केही वर्ष विभिन्न कारणले मेला प्रभावित भए पनि यस वर्ष सम्पूर्ण समुदायको साथ र सहयोगमा मेलालाई ऐतिहासिक ढंगले सम्पन्न गरिनेछ। सदस्य उपेन्द्र कुमार ठाकुरले पनि सबै समाजका अगुवा तथा स्थानीयवासीको सक्रिय सहभागिताले मेलालाई सफल बनाइने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडाध्यक्ष सुनिल कुमार गुप्ताले नवनिर्वाचित अध्यक्षलाई मिनेट बुक हस्तान्तरण गर्दै मेलाको सफल व्यवस्थापन, सुरक्षा र शान्तिपूर्ण सञ्चालनमा वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। उनले महावीरी झन्डा मेला जितपुरको पहिचान र इतिहास बोकेको सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले बजारमा चहलपहल बढाउने र धार्मिक–सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।