निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामद

निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामद
स्पर्श खबर जितपुर बारा असार १६ गते: इलाका प्रहरी कार्यालय जितपुरले साेमबारकाे दिन लागूऔषध गाँजाको अवैध कारोबारविरुद्ध कडा अभियान चलाउँदै विशेष ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको छ।

प्रहरी प्रमुख उमेश निरौलाको नेतृत्वमा गरिएको अपरेसनमा जितपुरसिमरा उपमहानगरपालिका–७ का दुई फरक स्थानबाट गाँजा बिक्री–वितरणमा संलग्न एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार वडा नं. ७ को सिदरिया टोल जाने बाटोस्थित एक घुम्टी पसलमा गाँजा बेचिरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा ६८ वर्षीय शेख मोहम्मद शेर पक्राउ परेका हुन्। उनको साथबाट बिक्रीका लागि तयार पारिएको ८ पुरिया गाँजा बरामद भएको प्रहरीले जनाएको छ।


त्यसपछि प्रहरीले सोही वडाको तरकारी बजार नजिक रहेको जनरल स्टोरमा पनि छापा मार्यो। पसलभित्र लुकाइछिपाइ राखेर गाँजा बिक्री गरिरहेको अवस्थामा बच्चीसा देवी पक्राउ परिन्। उनको पसलबाट ६९ पुरिया गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाले विशेष सूचनाको आधारमा सञ्चालन गरिएको ‘स्ट्रिङ अपरेसन’बाट करिब २ केजी गाँजा बरामद भएको र एक महिला तथा एक पुरुषलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेका दुवैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए।


प्रहरीका अनुसार जितपुर क्षेत्रमा लागूऔषधको अवैध कारोबार बढ्न नदिन निगरानी थप कडा बनाइएको छ। लागूऔषध कारोबारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहने प्रहरीको चेतावनी छ।