डीआईजीको निर्देशनमा तीव्र अनुसन्धान : फिल्मी शैलीमा जीतपुर बजार लुटियो, चटपटे–बिर्यानी खाएर सीसीटीभी बोकेर फरार चोरको खोजी तीव्र
मनाेज साह जितपुर बारा असार १४ गते:

बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर बजारमा शनिबार राति भएको फिल्मी शैलीको श्रृंखलाबद्ध चोरीपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीकाे निर्देशनमा प्रहरीले व्यापक अनुसन्धान सुरु गरेको छ।

चोरहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
विशाल मार्केट र सिटी मार्केटभित्र रहेका दर्जनौँ पसलमा चोरहरूले मुख्य ढोका वा ताला नफोडी छानामाथिको जस्तापाता उप्काएर प्रवेश गरी लाखौँ रुपैयाँ बराबरको नगद तथा सामान चोरी गरेका छन्।

चोरीका क्रममा उनीहरूले शुद्ध सहकारी चटपटे पसलमा चटपटे बनाएर खाएका, जमसम बिर्यानी हाउसमा बिर्यानी खाएका तथा महँगा इनर्जी ड्रिंक्स, रेडिमेड कपडा, ब्यागलगायतका सामान चोरी गरी फरार भएको पीडित व्यवसायी सुमाेद चाैरसियाले बताएका छन्।
चोरहरूले आफ्नो पहिचान लुकाउन अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरासमेत उखेलेर लगेका छन्। मुना फेन्सी, साहजान फेन्सी, जसिम कपडा पसल, जायद फेन्सी स्टोर, शुद्ध सहकारी चटपटे पसल, जमसम बिर्यानी हाउस, जबेद ब्याग पसललगायत दर्जनौँ पसल चोरीको सिकार बनेका छन्।

व्यापारी सन्तोष साहले रातभर यति ठूलो चोरी हुँदा पनि प्रहरीको उपस्थिति नदेखिएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए। जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले प्रहरीको कमजोर गस्तीका कारण व्यापारीहरू असुरक्षित बनेको आरोप लगाए।
नगर उद्योग वाणिज्य सङ्घकी कोषाध्यक्ष रिना पुरीले घटनापछि इलाका प्रहरी कार्यालय जितपुरमा औपचारिक निवेदन दर्ता गरिएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्न माग गरिन्।

इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाले घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिहरूलाई छिट्टै पक्राउ गरी सार्वजनिक गरिने बताए। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारले समेत घटनालाई गम्भीर रूपमा लिँदै तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएको जानकारी दिएका छन्।
यता बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा उनको फोन सम्पर्क हुन सकेन।

एउटै रात दर्जनौँ पसलमा भएको यो चोरीपछि जीतपुर बजारका व्यापारीहरू त्रासमा छन्। सुरक्षा व्यवस्था प्रभावकारी बनाउन, चोरलाई तत्काल पक्राउ गर्न र चोरी भएको सम्पत्ति फिर्ता गराउन उनीहरूले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।