बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजित

बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजित
स्पर्श खबर जितपुर बारा असार १२ गते:

राष्ट्रिय स्वतन्त्र पार्टी को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराका चार प्रतिनिधिसभा सदस्यमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।
बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अन्सारीले प्रवासतर्फको २२ मतसहित कुल १ हजार ४७ मत प्राप्त गर्दै जित हात पारे।
त्यसैगरी बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेसी समूहबाट ९ सय ७० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भए। उनले प्रवासतर्फबाट ६ मत प्राप्त गरेका छन्।
यता, बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य चन्दन सिंह र बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल भने केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा पराजित भएका छन्।
महाधिवेशनको परिणामसँगै बाराबाट प्रतिनिधित्व गर्ने रास्वपाका चार सांसदमध्ये दुई जनाले पार्टीको केन्द्रीय नेतृत्वमा स्थान सुरक्षित गरेका छन् भने बाँकी दुई सांसदले यसपटक सफलता हासिल गर्न सकेनन्। यस परिणामलाई बाराको राजनीतिक प्रतिनिधित्व र पार्टीभित्रको शक्ति सन्तुलनका दृष्टिले पनि अर्थपूर्ण रूपमा हेरिएको छ।