एक सातामै दोस्रो शोकान्तिका : जीतपुरसिमरामा फेरि सर्पदंशबाट पाँच वर्षीया बालिकाको मृत्यु

एक सातामै दोस्रो शोकान्तिका : जीतपुरसिमरामा फेरि सर्पदंशबाट पाँच वर्षीया बालिकाको मृत्यु
स्पर्श खबर जितपुर बारा असार १२ गते:

जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशका घटनाले चिन्ताजनक रूप लिएको छ। एक हप्ता नबित्दै फेरि अर्को एक निर्दोष बालिकाले सर्पदंशका कारण ज्यान गुमाएकी छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१४ मौलापुर निवासी पाँच वर्षीया दियान्सी रानामगरको बिहीबार राति विषालु सर्पले डसेपछि मृत्यु भएको हो। परिवारका अनुसार दियान्सी घरअगाडि बसिरहेको बेला राति करिब ८ बजे सर्पले डसेको थियो।
सर्पले डसेलगत्तै उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै बालिकाको मृत्यु भएको परिवारले जनाएको छ। मृतक बालिकाको शव राति नै घर ल्याइएको थियो भने शुक्रबार बिहान मात्रै प्रहरीलाई घटनाबारे जानकारी गराइएको हो।
रजघट्टास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।
मृतक दियान्सी स्थानीय कृष्णबहादुर राना मगर र दिपिका राना मगरकी छोरी हुन्। उनी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन्। उनको असामयिक निधनपछि शोक व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका छन्।
यो घटना भएको एक साताअघि मात्रै, असार ८ गते, जीतपुरसिमरा–१५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पदंशकै कारण मृत्यु भएको थियो।
लगातार दुई बालिकाको ज्यान जाने गरी सर्पदंशका घटना दोहोरिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। वर्षायामसँगै सर्पको जोखिम बढेकाले प्रभावित क्षेत्रमा सचेतना, तत्काल उपचारको व्यवस्था, पर्याप्त एन्टिभेनम (Anti-venom) को उपलब्धता र स्थानीय तहको सक्रियता बढाउन माग उठ्न थालेको छ।