जितपुरसिम्रा उद्योग वाणिज्य सङ्घमा गजेन्द्र गुप्ताको क्लिन स्वीप : ३३० मतान्तरसहित अध्यक्षमा ऐतिहासिक विजय

जितपुरसिम्रा उद्योग वाणिज्य सङ्घमा गजेन्द्र गुप्ताको क्लिन स्वीप : ३३० मतान्तरसहित अध्यक्षमा ऐतिहासिक विजय
मनाेज शाह जितपुर बारा असार ८ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता भारी मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन्। गुप्ताले प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई ३३० मतले पराजित गर्दै सङ्घको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
आइतबार सम्पन्न मतदानमा गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार मनोजकुमार गुप्ताले १९९ मत प्राप्त गरे। निर्वाचन परिणाम सार्वजनिक भएसँगै गजेन्द्र नेतृत्वको प्यानलले पदाधिकारीतर्फ क्लिन स्वीप गर्दै व्यापारी समुदायको स्पष्ट जनादेश प्राप्त गरेको छ।
वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार ५०२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी सन्तोष कुशवाहाले १९५ मत पाए। वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार ५११ मतसहित विजयी हुँदा प्रमोद साह तेली १११ मतमा सीमित भए।
महासचिव पदमा प्रकाश गिरी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। उनले ५१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी सुशील शर्माले १८८ मत पाए। कोषाध्यक्षमा रिना रौनियार पुरी ४१२ मतसहित निर्वाचित भइन् भने विन्देश्वरी प्रसाद साह कलवारले २६७ मत प्राप्त गरे।
वाणिज्य सचिव पदमा रिता कंडेल २९७ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी प्रदीप कुमारले १७६ मत तथा एकल उम्मेदवार शान्ताकुमारी बजगाईं (रिना)ले १३६ मत प्राप्त गरिन्।
वाणिज्य सदस्यतर्फ अमरेन्द्रकुमार साह कलवार (४३९), विभा गुप्ता (४२५), मुकुन्द रिजाल (३९३), बलराम पौडेल (३५८), बिजयकुमार गुप्ता (३४९), नवरतनप्रसाद कलवार (३४२) र मनोहरबाबु गुप्ता (३११) मतसहित निर्वाचित भएका छन्।
प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईका अनुसार ६ पदाधिकारी र ७ सदस्य पदका लागि भएको मतदानमा कुल ७६२ मत खसेको थियो र मतगणना सम्पन्न भएसँगै अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
यसअघि नै उद्योगतर्फका केही पदमा निर्विरोध निर्वाचन भइसकेको थियो। उद्योग उपाध्यक्षमा बिजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एशोसियट सदस्यमा हिमांशु गोल्छा तथा वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए।
व्यापारीहरूको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न निर्वाचनले जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नेतृत्व अब गजेन्द्र गुप्ताको काँधमा पुगेको छ। व्यापारी हित, संस्थागत सुधार र आर्थिक गतिविधिलाई नयाँ गति दिने अपेक्षासहित नयाँ कार्यसमितिले आफ्नो कार्यकाल सुरु गर्ने भएको छ।