जितपुरसिमरा उद्योग वाणिज्य संघमा ‘गुप्ता विरुद्ध गुप्ता’ भिडन्त : अनुभवी मनोज र युवा गजेन्द्रबीच अध्यक्षका लागि सीधा प्रतिस्पर्धा

जितपुरसिमरा उद्योग वाणिज्य संघमा ‘गुप्ता विरुद्ध गुप्ता’ भिडन्त : अनुभवी मनोज र युवा गजेन्द्रबीच अध्यक्षका लागि सीधा प्रतिस्पर्धा
स्पर्श खबर जितपुर बारा असार ३ गतेे: जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा रोचक चुनावी भिडन्त तय भएको छ। संघको निवर्तमान कार्यसमितिका दुई प्रभावशाली उपाध्यक्ष—वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ता—बीच अध्यक्ष पदका लागि सीधा प्रतिस्पर्धा हुने भएको हो।
बुधबार संघको जीतपुरस्थित कार्यालयमा रहेको निर्वाचन समितिमा दुवैले आ–आफ्नो छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तासँगै व्यापारी वृत्तमा चुनावी माहोल थप तातेको छ। यसअघि त्रिपक्षीय भिडन्तको चर्चा चलिरहे पनि अन्ततः अध्यक्ष पदको दौड दुई उम्मेदवारमा सीमित भएको छ।
अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता लामो समयदेखि उद्योग वाणिज्य संघमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनले संघमा अझै धेरै काम गर्न बाँकी रहेको र व्यवसायीहरूको आग्रह तथा विश्वासका आधारमा आफू नेतृत्वको दौडमा उत्रिएको बताएका छन्। संघमा काम गर्दाको अनुभव, संस्थागत ज्ञान र व्यवसायीसँगको निकट सम्बन्धले आफूलाई नेतृत्व सम्हाल्न सक्षम बनाएको उनको दाबी छ।
यता युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका गजेन्द्रकुमार गुप्ता ले निवर्तमान कार्यसमितिमा रहँदा सुरु गरिएका योजनाहरूलाई पूर्णता दिन आफूले उम्मेदवारी दिएको बताएका छन्। व्यवसायीको हकहित, संस्थाको आधुनिकीकरण र नयाँ सोचसहित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अपूरा काम पूरा गर्न नेतृत्व आवश्यक रहेको बताएका छन्।
एकातिर अनुभव र परिपक्व नेतृत्वको दाबी गर्ने मनोज गुप्ता छन् भने अर्कोतर्फ ऊर्जा, परिवर्तन र नयाँ पुस्ताको अपेक्षा बोकेर मैदानमा उत्रिएका गजेन्द्र गुप्ता छन्। यही कारण यसपटकको निर्वाचनलाई व्यापारी समुदायले “अनुभव बनाम युवा जोश” को प्रतिस्पर्धाका रूपमा समेत हेर्न थालेका छन्।
अब व्यवसायी मतदाताले कसको पक्षमा विश्वास व्यक्त गर्छन् भन्ने चासो बढेको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार ७ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ। आगामी निर्वाचनले संघको भावी दिशा तय गर्ने भएकाले व्यापारी समुदायको ध्यान अहिले यही चुनावमा केन्द्रित भएको छ।