९ बजेको नियम कागजमै: जितपुरसिमरा ९ वडा कार्यालय १० बजेपछि मात्रै खुल्ने, सेवाग्राही हैरान
मनाेज शाह जितपुर बारा बैशाख २२ गते:
सरकारले देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य सञ्चालन गर्ने स्पष्ट निर्देशन दिएको भए पनि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ (छातापिप्रा) मा भने उक्त निर्णयको खुला उल्लङ्घन भइरहेको पाइएको छ।
वडामा सेवा लिन बिहानै पुगेका सेवाग्राहीहरूले कार्यालय बन्द भेटेपछि लामो समय कुर्न बाध्य भएका छन्। सोमबार बिहान साढे १० बजेसम्म पनि वडा कार्यालय नखुलेपछि सेवाग्राहीहरूको आक्रोश चुलिएको थियो। स्थानीयका अनुसार कर्मचारीहरू नियमित रूपमा १० बजेपछि मात्र कार्यालय खोल्ने गरेका छन्, जसले सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना गरेको छ।
सेवाग्राही मुन्ना गुप्ताले बिहान ९ बजेदेखि नै कार्यालयमा कुरेर बस्दा पनि कर्मचारी नआएको गुनासो गर्नुभयो। “हामी डेढ घण्टादेखि यहाँ बसेका छौँ, तर काम गर्ने कोही आएनन्, निकै दुःख पाएका छौँ,” उहाँले भन्नुभयो।
अर्की सेवाग्राही शोभा सहनीले पनि कर्मचारीको लापरवाहीका कारण आफूहरू मारमा परेको बताउँदै भन्नुभयो, “घरमा बालबच्चा छोडेर छिटो काम सकेर फर्किने योजना थियो, तर यहाँ त कर्मचारी नै छैनन्, हैरानी मात्र भयो।”
घटनापछि केही सेवाग्राहीहरूले सञ्चारकर्मीलाई समेत बोलाएका थिए। तर, वडा कार्यालयको अवस्थाबारे जानकारी लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत डम्रुप्रसाद निरौला सम्पर्कविहीन रहनुभयो—उहाँले फोनसमेत नउठाएको बताइएको छ।
यता वडा अध्यक्ष मोतिलाल यादवले भने सबै कर्मचारी ‘टुर’मा गएको दाबी गर्नुभएको छ। तर, कार्यालयमा कुनै सूचना टाँस नगरी सेवा पूर्ण रूपमा ठप्प पारिएकोप्रति स्थानीयवासीले कडा आपत्ति जनाएका छन्।
स्थानीय भोला चौधरीले कर्मचारीहरूको गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “जनताको काम छोडेर कर्मचारीहरू जथाभावी भ्रमणमा जाने कार्य गलत हो। कम्तीमा सूचना त दिनुपर्थ्यो। यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”
सरकारले सेवा प्रवाहलाई चुस्त, छरितो र प्रभावकारी बनाउन स्पष्ट समयसीमा तोकेको भए पनि स्थानीय तहमा त्यसको पालना नहुँदा सर्वसाधारण नागरिक भने सास्ती खेप्न बाध्य भइरहेका छन्।