ब्राह्मण समाज नेपाल बारामा भवन निर्माणको शिलान्यास, सामाजिक एकताको नयाँ आधार तयार
स्पर्श खबर जितपुर बारा बैशाख १८ गते:
ब्राह्मण समाज नेपाल, बाराको बहुप्रतीक्षित भवन निर्माण कार्यको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ।

कलैया उपमहानगरपालिका–७ मा आयोजित कार्यक्रममा समाजका अध्यक्ष अनिल पाण्डेयले विधिवत रूपमा शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रम उत्साहजनक सहभागिताबीच सम्पन्न भएको थियो, जहाँ स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागी वक्ताहरूले निर्माणाधीन भवनले समुदायलाई थप संगठित बनाउँदै सामाजिक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेयले भवन केवल भौतिक संरचना मात्र नभई समाजको पहिचान, संस्कार र एकताको प्रतीक बन्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो भवन हाम्रो सांस्कृतिक धरोहरको संरक्षण र सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास हुनेछ।”
उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्न सबै सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई आर्थिक तथा नैतिक सहयोगका लागि आह्वान समेत गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले भवन निर्माणले विशेषगरी युवापुस्तालाई सामाजिक कार्यमा आकर्षित गर्ने र परम्परागत मूल्य–मान्यताको संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा नेकपा एमाले बारा अध्यक्ष अध्यानन्द पाण्डे, अधिवक्ता अरुण कुमार दुबे, नेपाल पत्रकार महासंघ बारा पूर्व उपाध्यक्ष राकेश पाण्डेयलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।