ठोरी–माडी सडकमा बसबाट ४७५ क्याप्सुलसहित युवक पक्राउ

ठोरी–माडी सडकमा बसबाट ४७५ क्याप्सुलसहित युवक पक्राउ
मनाेज शाह जितपुर बारा बैशाख २३ गते:
पर्सा जिल्लाको ठोरीबाट माडी नगरपालिकातर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्।
गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गरेको थियो। सो क्रममा बसमा सवार परियारले लगाएको पाइन्टको खल्तीमा लुकाइछिपाइ राखिएको लेबोरोट क्याप्सुल ४७५ पिस बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित परियारलाई नियन्त्रणमा लिएर उनीविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।