निजगढको बकैया खोल किनारमै फोहोर डम्पिङ : वातावरणीय लापरवाहीको पराकाष्ठा

निजगढको बकैया खोल किनारमै फोहोर डम्पिङ : वातावरणीय लापरवाहीको पराकाष्ठा

स्पर्श खबर जितपुर बारा मंसिर १८ गते:

निजगढ नगरपालिकाले वर्षौँदेखिदेखि बकैया खोला किनारलाई खुला डम्पिङ साइटका रूपमा प्रयोग गर्दै आएको तथ्य बाहिरिएको छ। सभ्यताको प्रतीक मानिने नदी–खोला र तिनको किनारलाई फोहोर मैलाले भरिने काम भइरहेको देखिएपछि स्थानीयवासी तथा सरोकारवाला पक्षबाट तीव्र विरोध व्यक्त गरिएको छ।

वन क्षेत्रभित्र पर्ने बकैया खोला किनारमा दैनिक ४–५ टनजति प्लास्टिकजन्य फोहोर ढुवानी गरी खुला रूपमा फालिने मात्र होइन, त्यसमाथि आगो बालिने गरेको स्थानीयले बताएका छन्। यो कार्य वातावरण संरक्षण ऐन तथा नियमावलीको प्रत्यक्ष उल्लङ्घन मानिन्छ।

खोलाकै छेउमा डम्पिङ साइट संचालन गरिँदा हावाबाट फैलिने धुवाँ, गन्ध र प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको स्थानीयवासीले बताएका छन्। साथै, आगोले उत्पादन हुने विषालु धुवाँले वरपरको वन क्षेत्र, वनस्पति र चराचुरुङ्गीमा गम्भीर क्षति पुर्‍याइरहेको छ।

यति मात्र होइन, सो क्षेत्रमा खुला रूपमा फालिने फोहोर खोज्दै गाई, भैंसी, गोरू तथा स्याल, बाँदर, हुडारजस्ता वन्यजन्तुले प्लास्टिक र विषालु पदार्थ खाने गरेको पाइएको छ, जसले उनीहरूको जीवन र स्वास्थ्यमा दीर्घकालीन खतरा निम्त्याइरहेको छ।

पर्यावरणविद्हरूका अनुसार नदी–खोला मानव सभ्यताको आधारशिला रहेका स्थान हुन्, तर निजगढमा यसको संरक्षणभन्दा उल्टो नष्ट गर्ने काम भइरहेको देखिन्छ। स्थानीयले तत्काल वैकल्पिक डम्पिङ व्यवस्थापन, वैज्ञानिक रूपमा फोहोर प्रशोधन तथा नदी–खोला संरक्षणमा ध्यान दिन नगरपालिका र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

निजगढ नगरपालिकाले भने यस विषयमा हालसम्म कुनै ठोस प्रतिक्रिया सार्वजनिक गरेको छैन।