एमाले जीतपुरसिमराद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित, पाँच विद्यार्थीलाई जनही ५ हजार नगदसहित कदरपत्र
विद्यार्थीको प्रतिभा पहिचान गर्दै एमालेले गर्यो सम्मान; कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई १० हजार दिने घोषणा
स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते:
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।

विजयादशमी, शुभदीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एसईई र कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको हो।
सम्मानित हुनेमा कक्षा १२ तर्फ संस्थागत विद्यालयबाट शुभारम्भ एकेडेमी सिमराका श्रवणकुमार मिश्र तथा सामुदायिक विद्यालयबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगन्जकी रनिता रुम्बा र जनता माध्यमिक विद्यालय रजघट्टाका पंकजकुमार यादव रहेका छन्।त्यसैगरी, एसईईतर्फ संस्थागत विद्यालयबाट ब्राइटर एकेडेमीका अंकित साह र सामुदायिक विद्यालयबाट जनता माध्यमिक विद्यालय रजघट्टाका मनिष पनेरु सम्मानित भएका छन्।

यसैबीच, जीतपुरसिमराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गराउन योगदान पुर्याएकी कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई १० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरिएको छ। जापानमा सम्पन्न एसियन गेम्समा सहभागिता जनाएकी चौलागाईं कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि अर्को कार्यक्रममा सम्मान गरिने नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले जानकारी दिए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ का प्रत्याशी किसान श्रेष्ठले पार्टीको वडा कमिटीदेखि केन्द्रीय कमिटीसम्मका नेता तथा कार्यकर्ताले इमानदारीपूर्वक पार्टीको नीति, नियम र अनुशासन पालना गर्नुपर्ने बताए। पार्टीलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनालीले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले पार्टीको टिकट वितरण बहुमतका आधारमा हुनुपर्ने र जनप्रतिनिधि मात्र नभई पार्टीका नेतासमेत कार्यकर्ताबाट निर्वाचित भएर आउनुपर्ने धारणा राखे। एमालेबाहेक अन्य दल लोकतान्त्रिक अभ्यास र संगठनात्मक प्रक्रियामा अब्बल नरहेको दाबीसमेत उनले गरे।
पूर्वकृषिमन्त्री तथा एमाले केन्द्रीय सदस्य ज्वालाकुमारी शाहले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता एकजुट भएर पार्टीको नीति, नियम र अनुशासन पालना गर्दै आगामी स्थानीय निर्वाचनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू ज्वाला शाह, किसान श्रेष्ठ, सीता सुवेदी, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, पूर्वकेन्द्रीय सदस्य सरस्वती चौधरी, प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्वप्रदेशसभा सदस्य सुन्दर विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कैमुद्दिन अन्सारीले गरेका थिए भने सञ्चालन रविन्द्र खकुरेलले गरेका थिए।