बारामा ‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट, अवस्था गम्भीर
वीरगञ्जमा उपचार हुँदै, आरोपितलाई पक्राउ गरी कारबाही गर्न पीडित पक्षको माग
सिकिन्द्र साह सिम्रनगढ कार्तिक १२ गते:
बारा जिल्लाको पचरौता नगरपालिका–५ इनर्वामा ‘बोक्सी’को आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी सिकिन्द्र खातुनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

पीडित पक्षका अनुसार गत कात्तिक ११ गते बिहान करिब ११:४५ बजे मोबारेक मियाँकी श्रीमती सिकिन्द्र खातुनलाई ‘तिमी बोक्सी हौ’ भन्दै घेरा हालेर ज्यानै जाने गरी कुटपिट गरिएको आरोप छ।घटनामा तबारक मियाँ धुनियाका छोरा कलाम मियाँ धुनिया, सर्फुन खातुन, अपसाना खातुन र रोकसाना खातुनलगायत संलग्न रहेको पीडित पक्षको आरोप छ।
कुटपिटबाट घाइते भएकी खातुनलाई सुरुमा स्थानीयको सहयोगमा बेलदारीस्थित नगर अस्पतालमा उपचार गराइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज रेफर गरिएको पीडितका छोरा समिरुल मन्सुरीले बताएका छन्।
घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा उजुरी दिएको जनाएको छ।
प्रश्न गम्भीर छ—२१औँ शताब्दीमा पनि महिलालाई ‘बोक्सी’को आरोप लगाएर कुटपिट गर्ने मानसिकता कहिलेसम्म कायम रहने?
अन्धविश्वासका नाममा महिलामाथि हुने हिंसा कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। पीडित परिवारले दोषीलाई जोगाउने चलखेल हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।अब प्रहरी प्रशासनको जिम्मेवारी स्पष्ट छ—उजुरीमाथि निष्पक्ष छानबिन गर्ने, घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको भूमिका अनुसन्धान गर्ने र पीडितलाई न्याय तथा सुरक्षा प्रदान गर्ने। बोक्सीको आरोप अपराध हो, महिलामाथिको हिंसा होइन भनेर समाजले बुझ्नैपर्छ।