तीजको भीडमा सुन चोर्ने भारतीय महिलाको गिरोह पक्राउ, मन्दिरमै प्रहरीको घेरा

तीजको भीडमा सुन चोर्ने भारतीय महिलाको गिरोह पक्राउ, मन्दिरमै प्रहरीको घेरा
कपिलवस्तु भदौ ३० गते:

हरितालिका तीजको भीडभाडमा श्रद्धालु महिलाहरूको सुनका गरगहना चोरी गर्ने भारतीय महिलाको संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको तौलेश्वरनाथ महादेव मन्दिरमा सुनको सिक्री र लकेट चोरेर भाग्दै गरेका ६ जना भारतीय महिलालाई प्रहरीले सिसिटिभी फुटेजको सहायताले केही मिनेटमै नियन्त्रणमा लिएको हो। घटनामा संलग्न थप दुई जनालाई समेत पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महिलाहरूको साथबाट चोरीका सुनका गहना र नगद रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।प्रहरीका अनुसार गिरोह भारतको सीमावर्ती खुनुवा नाका हुँदै नेपाल प्रवेश गरी दर्शनार्थीको भेषमा मन्दिर छिरेको थियो। सोमबार दिउँसो पौने २ बजेतिर भीडको मौका छोपेर महिलाहरूको घाँटीबाट सुनका सिक्री र लकेट चोरेर भाग्न खोज्दा सिसिटिभी निगरानीमा रहेको प्रहरी टोलीले तत्काल घेरा हाली पक्राउ गरेको हो।
बोलबम यात्रामै पनि सुन चोरी गरेको खुलासा
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार यो गिरोह चाडपर्व तथा मेलाको भीडमा सुनका गरगहना चोरी गर्दै लामो समयदेखि सक्रिय रहेको देखिएको छ।
गत साउन २५ गते भएको बोलबम काँवर जलयात्राका क्रममा समेत यही समूहले मन्दिरमा सुन चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। पुरानो रेकर्डका आधारमा यसपटक उनीहरूमाथि निगरानी राखिएको थियो।पक्राउ पर्नेमा ६ भारतीय महिला
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका विभिन्न जिल्लाका २५ वर्षीया उषादेवी हरिजन, ३२ वर्षीया गीतादेवी चमार, ३५ वर्षीया रीता चमार, ३५ वर्षीया उषादेवी चमार, २४ वर्षीया शीला हरिजन र अनितादेवी हरिजन रहेका छन्।
पक्राउ परेकी २४ वर्षीया शीला हरिजन गर्भवती रहेको प्रहरीले जनाएको छ। गिरोहका थप दुई सदस्यसमेत पक्राउ परिसकेका छन्।
प्रहरीले सबैलाई हिरासतमा राखेर थप सोधपुछ तथा कानुनी अनुसन्धान अघि बढाएको डीएसपी सिंहले जानकारी दिए।