मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, २ हजार बढी अतिथि भेला
मुस्ताङ भदौ ३० गते मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा सहभागी हुन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्।
दुई दिनसम्म चल्ने सम्मेलनका लागि घरपझोङ गाउँपालिकाका पाँचै वडा झकिझकाउ पारिएको छ। स्थानीय कला, संस्कृति झल्कने ध्वजापतङ्गा, सडक बत्ती तथा आवश्यक सजावट गरिएको छ।
जोमसोम कभर्डहलमा हुने सम्मेलनमा ५० भन्दा बढी कृषि उत्पादनका स्टल राखिएका छन्। अतिथिको खाना, बसोबास, स्वास्थ्य, खानेपानी, इन्टरनेट र ट्राफिक व्यवस्थापनको तयारी पूरा गरिएको गाउँपालिकाले जनाएको छ।
सम्मेलनस्थलमा जलवायु परिवर्तनको असर झल्काउने २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ बेलुनको आकृति राखिएको छ।जलवायु परिवर्तनको असर र समाधानका विषयमा छलफल हुने सम्मेलनले दुई दिनपछि घोषणापत्र जारी गर्नेछ।