गरिमा चौधरी हत्या प्रकरणमा कडा कारबाहीको माग, आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टीको समर्थन
मनाेज शाह जितपुर बारा भदौ ४ गते:
तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले सरकारसँग माग गरेको छ।

पार्टीका जिल्ला इन्चार्ज रमेश कुमार यादव र संयोजक गीता कँडेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर निवासी तथा श्री सरस्वती आधारभूत विद्यालय, दशविगाह नर्सरीमा अध्ययनरत गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएको र खोजीका क्रममा भदौ २ गते शव फेला परेको उल्लेख गरिएको छ।
घर नजिकैको एक घरमा बालिकाको विभत्स र अमानवीय ढंगले बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको घटनाले पार्टी स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा जनाइएको छ।
पार्टीले तराईसहित देशका विभिन्न क्षेत्रमा बढ्दै गएका अमानवीय, क्रूर र जघन्य अपराधप्रति घोर भर्त्सना गर्दै यस्ता घटना रोक्न प्रहरी प्रशासनलाई उच्च निगरानी र सतर्कता अपनाउन आग्रह गरेको छ। साथै दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।
सिमराको घटनापछि आम नागरिकमा त्रास र भय बढेको भन्दै जनताको जिउधन तथा भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरिएको छ। सबै समुदायलाई आपसी समन्वय र सतर्कता अपनाउँदै सुरक्षित रहन पार्टीले अपिल गरेको छ।
विज्ञप्तिमा बालिका गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। अपराध रोक्न आवश्यक परे हालको कानुन संशोधन गरेर भए पनि कडा कारबाहीको व्यवस्था गर्नुपर्ने पार्टीको माग छ।
यसैबीच, गरिमा हत्या प्रकरणमा जिल्लाभर भइरहेको स्वतःस्फूर्त न्यायको मागसहितको आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले समर्थन जनाएको छ।
घटनाको विरोध र न्यायको मागलाई ऐक्यबद्धता जनाउँदै भदौ ५ गते तय गरिएको पार्टीको जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको समेत विज्ञप्तिमार्फत जानकारी दिइएको छ।