गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही माग

गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही माग
स्पर्श खबर जितपुर बारा भदौ ४ गते:

तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाप्रति नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले गम्भीर आपत्ति जनाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।


जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर निवासी तथा श्री सरस्वती आधारभूत विद्यालय, दशबिघास्थित नर्सरीमा अध्ययनरत बालिका गरिमा चौधरी यही साउन ३१ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते उनको शव विभत्स अवस्थामा नजिकैको एक घरमा फेला परेको एमालेको विज्ञप्तिमा उल्लेख छ।
एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले घटनालाई अमानवीय, क्रूर, पाशविक र जघन्य अपराधको संज्ञा दिँदै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने जनाएको छ।
कमिटीले बालिका गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूमाथि कानुन संशोधन गरेर भए पनि हदैसम्मको कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोचक विक्रम शाहद्वारा जारी विज्ञप्तिमा बालिकामाथि भएको जघन्य अपराधले समाजलाई नै स्तब्ध बनाएको भन्दै दोषीमाथि कडा कानुनी कारबाही अपरिहार्य रहेको स्पष्ट गरिएको छ।