गजेन्द्रकुमार गुप्ता महासंघको उद्योग समितिमा मनोनित, उद्योगी व्यवसायीको आवाज थप बलियो हुने
स्पर्श खबर जितपुर बारा साउन ३१ गते:
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन्।

महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठित उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यका रूपमा चयन गरिएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गुप्तालाई मनोनयनसम्बन्धी पत्र हस्तान्तरण गरेका छन्।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उद्योग समितिमार्फत महासंघलाई थप सशक्त रूपमा अघि बढाउन तथा समग्र औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। समितिलाई थप क्रियाशील र प्रभावकारी बनाउन गुप्ताको सक्रिय सहयोग रहने अपेक्षा महासंघले गरेको छ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित गुप्ता लामो समयदेखि उद्योगी तथा व्यवसायीका हकहितका पक्षमा सक्रिय रहँदै आएका छन्। महासंघको उद्योग समितिमा उनको मनोनयनसँगै बारा–पर्सा क्षेत्रका उद्योगी व्यवसायीका समस्या र औद्योगिक मुद्दा राष्ट्रिय तहमा थप प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।
उद्योग क्षेत्रका समस्या, लगानीको वातावरण, व्यवसायीका अधिकार तथा औद्योगिक विकासका सवालमा गुप्ताको भूमिका अब महासंघको समितिमार्फत थप प्रभावशाली बन्ने देखिएको छ।