ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध

ओलीको कडा सन्देश : आदिवासी जनजातिको अधिकारमा एमाले प्रतिबद्ध
इलाम साउन ३१ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार कार्यान्वयन र संरक्षणका लागि एमाले दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ।
इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा पार्टी निरन्तर सक्रिय रहने बताउनुभयो।
“आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ,” ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ।”
एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा आवाज उठाउँदै आएको दाबी गर्दै ओलीले जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्ने राजनीति भन्दा सबै समुदायलाई समान अधिकार र अवसर सुनिश्चित गर्दै राष्ट्रिय हितमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले विविधताबीचको एकतालाई मजबुत बनाउँदै सबै समुदायको सम्मान र सहभागिताबाट मात्रै राष्ट्रिय एकता बलियो हुने बताउनुभयो।
बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको वर्तमान साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिका सवाल तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।