भारतबाट तस्करी गरिएका ४ हजार ५ सय ब्रोइलर चल्ला बरामदपछि नष्ट

भारतबाट तस्करी गरिएका ४ हजार ५ सय ब्रोइलर चल्ला बरामदपछि नष्ट

स्पर्श खबर जितपुर बारा साउन ३० गते:


पर्सामा भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका ४ हजार ५ सय वटा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
पर्साको बिन्दवासिनी गाउँपालिका–३, झौवागुठी क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले तस्करी गरी ल्याइँदै गरेका चल्ला बरामद गरेको हो। प्रहरी टोलीलाई देखेपछि तस्करहरूले चल्ला छाडेर फरार भएका थिए।
बरामद गरिएका चल्लालाई पशुपन्छी क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीयवासीको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाका अनुसार भारतबाट अवैध रूपमा भित्र्याइएका प्रतिबन्धित चल्ला नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको हो।
अवैध रूपमा कुखुराका चल्ला तथा पशुपन्छी भित्र्याउँदा संक्रमण फैलिन सक्ने जोखिम हुने भएकाले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई कडाइ गर्दै आएको जनाएको छ।