स्टार पानी उद्योगको लफडा : मृतकको रकमबारे विवाद, सञ्चालक भन्छन्—‘प्रशासनमा ५ लाख ५० हजार जम्मा गरिसकेका छौं’

स्टार पानी उद्योगको लफडा : मृतकको रकमबारे विवाद, सञ्चालक भन्छन्—‘प्रशासनमा ५ लाख ५० हजार जम्मा गरिसकेका छौं’
स्पर्श खबर जितपुर बारा साउन ३० गते:

जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित स्टार पानी उद्योगमा मृतकको रकम भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ। मृतक परिवारले पाउनुपर्ने रकम नपाएको आरोप लगाउँदै उद्योगअगाडि विरोध तथा नाराबाजी गर्दै आएको छ ।


यता उद्योग सञ्चालक रगु चौधरीले मृतक शिवनारायण पासवानको हकदारले पाउनुपर्ने क्रियाकर्म तथा क्षतिपूर्तिबापतको ५ लाख ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालय, बारामा राष्ट्रिय वाणिज्य बैंकमार्फत २०८३/४/२५ गते नै जम्मा गरिसकेको दाबी गरेका छन्।
चौधरीका अनुसार घटनासँग सम्बन्धित चालक हाल थुनामा छन्। ‘कानुनले जे भन्छ, हामी त्यही मान्न तयार छौं,’ उनले भने।


तर उद्योगअगाडि केही स्थानीयले नाराबाजी तथा विरोध गरिरहेको भन्दै चौधरीले आपत्ति जनाएका छन्। उनले विरोधका क्रममा आफ्नी श्रीमतीमाथि समेत कुटपिट भएको दाबी गर्दै प्रहरी प्रशासनसँग सुरक्षाको माग गरेका छन्।
‘उद्योग वरिपरिका केही उच्छृंखल व्यक्तिहरूको लहैलहैमा हाम्रो उद्योग वरिपरि विरोध भइरहेको छ। प्रशासनसँग मेरो आग्रह छ—उद्योग सञ्चालन गर्न वातावरण बनाइदिनुहोस्। मेरो परिवारमाथि कुनै आँच आए त्यसको निष्पक्ष छानबिन होस्,’ चौधरीले भने।
मृतक परिवारले पाउनुपर्ने रकम आफूहरूले प्रशासन कार्यालयमा बुझाइसकेको दाबी गर्दै चौधरीले विवादलाई सडकको विरोधभन्दा पनि कानुनी प्रक्रियामार्फत समाधान गर्न आग्रह गरेका छन्।