रेखा थापा : ‘सन्तान जन्माउन अमेरिका जानु अपराध होइन, पटक–पटक जिस्काउन जरुरी छैन’

रेखा थापा : ‘सन्तान जन्माउन अमेरिका जानु अपराध होइन, पटक–पटक जिस्काउन जरुरी छैन’

स्पर्श खबर जितपुर बारा साउन २९ गते:
कलाकार रेखा थापाले सुरक्षित रूपमा सन्तान जन्माउने चाहनाका कारण आफू अमेरिका गएको स्पष्ट पारेकी छन्। उनले नेपालका अस्पतालप्रति अविश्वास भएर नभई पहिलोपटक आमा बन्न लागेको हुँदा केही डर र सुरक्षित वातावरणको चाहनाले अमेरिका गएको बताएकी हुन्।
रेखा थापाले आफू उपचारका लागि राज्यको ढुकुटी खर्च गरेर विदेश नगएको भन्दै आफ्नो व्यक्तिगत निर्णयलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने धारणा राखेकी छन्।
उनले भनिन्, “म सुरक्षित तरिकाले सन्तान जन्माउन चाहन्थेँ, त्यसैले अमेरिका गएकी हुँ। मैले यहाँका अस्पताललाई विश्वास नगरेको पनि होइन, तर पहिलोपटक आमा बन्दा अलिक डर लागेको थियो।”
उनले नेपालमा कतिपय व्यक्ति राज्यको ढुकुटी खर्च गरेर उपचारका लागि विदेश जाने गरेको उल्लेख गर्दै आफू भने त्यस्तो अवस्थामा नगएको स्पष्ट पारिन्।
रेखाको भनाइ छ, “मैले मेरो देशको ढुकुटी रित्याएर गएको पनि होइन। यो सामान्य विषयलाई अपराध जस्तो गरेर पटक–पटक जिस्काउन जरुरी छैन।”
उनको यो अभिव्यक्तिले सन्तान जन्माउने व्यक्तिगत निर्णयलाई लिएर भइरहेको आलोचनाप्रति असन्तुष्टि रहेको स्पष्ट देखाएको छ। कलाकार थापाले आफ्नो मातृत्व र स्वास्थ्यसम्बन्धी निर्णयलाई व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा लिन आग्रह गरेकी छन्।