पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढ्यो, ४१ बाट ७१ पुग्यो

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढ्यो, ४१ बाट ७१ पुग्यो
स्पर्श खबर जितपुर बारा साउन २९ गते:

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। निकुञ्जका बारा आधारभार कार्यालय प्रमुख रामचन्द्र खतिवडाका अनुसार विगतको गणनामा ४१ वटा बाघ रहेकोमा पछिल्लो गणनामा संख्या बढेर ७१ वटा पुगेको हो।


बाघको संख्या ३० वटाले बढेसँगै निकुञ्जको संरक्षण अभियान प्रभावकारी बन्दै गएको देखिएको छ। बाघको संख्या बढ्नु जैविक विविधता र वन्यजन्तु संरक्षणका दृष्टिले सकारात्मक उपलब्धि मानिएको छ।
तर बाघको संख्या बढेसँगै निकुञ्ज आसपासका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम पनि बढ्न सक्ने भएकाले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।


कार्यालय प्रमुख खतिवडाले निकुञ्ज आसपासका बासिन्दालाई अनावश्यक रूपमा जंगल प्रवेश नगर्न, रातिको समयमा विशेष सतर्कता अपनाउन तथा बाघ देखिएमा त्यसलाई जिस्क्याउने वा पछ्याउने काम नगरी तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेका छन्।
४१ बाट ७१ बाघ पुग्नु पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण अभियानका लागि ठूलो उपलब्धि हो। तर बाघसँगै मानव बस्तीको सुरक्षा सुनिश्चित गर्नु अब निकुञ्ज प्रशासनको अर्को महत्वपूर्ण चुनौती बनेको छ।