अपाङ्गता भएका महिलाको अधिकारका लागि आदर्श कोतवाल गाउँपालिकालाई खबरदारी
सिम्रनगढ सिकेन्द्र साह साउन २८ गते:
अपाङ्गता भएका महिलाको हक–अधिकार संरक्षणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच सुनिश्चित गर्न माग गर्दै आदर्श कोतवाल गाउँपालिकालाई खबरदारी पत्र बुझाइएको छ।

मिथिला सारथि समाज नेपालका कार्यकारी निर्देशक सुनिलकुमार यादव, अध्यक्ष प्रतिमा देवी महतो लगायतको सहभागितामा UN Women को आर्थिक सहयोगमा सञ्चालित ‘हाम्रो साहस’ परियोजनाअन्तर्गत अपाङ्गता महिला सञ्जाल तथा पारालिगल प्रतिनिधिहरूले गाउँपालिकालाई खबरदारी पत्र बुझाएका हुन्।
उक्त पत्र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारस राय यादवलाई हस्तान्तरण गरिएको हो।

खबरदारी पत्रमार्फत अपाङ्गता भएका महिलाका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सहज र समान पहुँच सुनिश्चित गर्न, गाउँपालिकाका भौतिक संरचना अपाङ्गतामैत्री बनाउन तथा उनीहरूको अधिकार कार्यान्वयनलाई प्राथमिकतामा राख्न माग गरिएको छ।
यस्तै, आदर्श कोतवाल गाउँपालिकामा यसअघि सञ्चालनमा रहेको बीपी नेत्र प्रतिष्ठानसँग सम्बन्धित आँखा, कान तथा घाँटी उपचार एवं पुनःस्थापना सेवा पुनः सञ्चालन गर्न माग गरिएको छ।
त्यसैगरी, ३ देखि १४ वर्ष उमेर समूहका दृष्टिविहीन, बहिरा तथा सुस्त मनस्थिति भएका बालबालिकाका लागि सञ्चालन हुँदै आएको सेवा विगत तीन वर्षदेखि बन्द रहेको भन्दै तत्काल पुनः सञ्चालन गर्न माग गरिएको छ।
अपाङ्गता भएका महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनःस्थापना र रोजगारीको अधिकार कागजमा सीमित नराखी स्थानीय तहबाटै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भन्दै सरोकारवालाले गाउँपालिकालाई गम्भीर बन्न खबरदारी गरेका छन्।
अपाङ्गता भएका नागरिकको अधिकार संरक्षण स्थानीय सरकारको जिम्मेवारी भएकाले अब आश्वासन होइन, ठोस कार्यान्वयन आवश्यक रहेको उनीहरूको जोड छ।