सामाजिक सद्भावका लागि रवि लामिछानेको पहल, मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

सामाजिक सद्भावका लागि रवि लामिछानेको पहल, मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल
काठमाडौं, साउन १५ गते:

देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनको अवस्थाबीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार विभिन्न धार्मिक अगुवासँग छलफल सुरु गरेका छन्।


रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी भएका छन्। त्यसपछि सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयालसँग पनि संयुक्त छलफल गरेका छन्।
छलफलका क्रममा पछिल्लो समय सुनसरी, सिराहा लगायत देशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाबारे विचार–विमर्श भएको जनाइएको छ। सभापति लामिछानेले दुवै समुदायका धार्मिक अगुवालाई संयमता अपनाउन, हिंसात्मक गतिविधि रोक्न र आफ्ना समर्थक तथा सर्वसाधारणलाई सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्तिको पक्षमा उभिन सार्वजनिक अपिल गर्न आग्रह गरेका छन्।
रास्वपाले धार्मिक तथा साम्प्रदायिक सद्भाव नेपालको साझा सम्पत्ति भएकाले कुनै पनि प्रकारको द्वेष, हिंसा वा उत्तेजनाले समस्या समाधान नगर्ने भन्दै सबै पक्षलाई संवाद, संयम र कानुनी प्रक्रियामार्फत अघि बढ्न आग्रह गरेको छ। पार्टीले सबै नागरिकलाई शान्ति कायम राख्न र अफवाहबाट बच्न समेत अनुरोध गरेको छ।