बारामा सर्वदलीय–सर्वपक्षीय सद्भाव र्याली, ‘मन जोडौँ, समाज नतोडौँ’ सन्देशसहित एकताको आह्वान
मनाेज शाह जितपुर बारा साउन १६ गते:
देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका घटनाक्रम र त्यसबाट उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै बारा जिल्लामा सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शनिबार सर्वदलीय–सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा बिहान कार्यालय परिसरबाट सुरु भएको र्याली कलैया बजारका विभिन्न सडक तथा चोकहरूको परिक्रमा गर्दै सम्पन्न भएको हो। र्यालीमा सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।
सहभागीहरूले “सबै धर्म र जातको सम्मान गरौं”, “हिंसा होइन, सहअस्तित्व रोजौँ”, “राष्ट्रिय एकता र शान्ति कायम गरौं”, “हाम्रो सद्भाव हाम्रो शक्ति”, “विभेद अन्त्य गरौँ, भाइचारा बढाऔँ”, “मन जोडौँ, समाज नतोडौँ”, “जात अनेक, नेपाली एक”, “शान्ति नै समृद्धिको आधार” र “सद्भाव नै हाम्रो पहिचान हो” जस्ता नारामार्फत सामाजिक मेलमिलाप र आपसी सम्मानको सन्देश दिएका थिए।

र्यालीमार्फत विभिन्न समुदायबीचको विश्वास र सम्बन्धलाई अझ सुदृढ बनाउँदै जिल्लामा शान्ति, सद्भाव, सामाजिक एकता र पारस्परिक सहिष्णुता कायम राख्न सबै पक्षलाई एकजुट हुन आह्वान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघ–संस्थाका अगुवा, विभिन्न समुदायका धर्मावलम्बी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
हालै देशका केही स्थानमा भएका तनावपूर्ण घटनापछि बारा जिल्लामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले आयोजित उक्त र्यालीले शान्ति, एकता र सहअस्तित्वको सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन्।