बढ्दो महँगीबाट राहत दिन जापानको ऐतिहासिक निर्णय: खाद्यवस्तुको बिक्री कर ८ प्रतिशतबाट १ प्रतिशतमा झारिने

बढ्दो महँगीबाट राहत दिन जापानको ऐतिहासिक निर्णय: खाद्यवस्तुको बिक्री कर ८ प्रतिशतबाट १ प्रतिशतमा झारिने
काठमाडौं श्रवण १५ गते:

बढ्दो मुद्रास्फीति र जीवनयापन खर्चको चापले उपभोक्तामाथि परेको आर्थिक बोझ कम गर्न जापान सरकारले खाद्य तथा पेय पदार्थमा लाग्ने बिक्री कर (उपभोग कर) ८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने ऐतिहासिक निर्णय गरेको छ।
जापानकी प्रधानमन्त्री सनाए ताकाइची ले बिहीबार आगामी अप्रिलदेखि उक्त व्यवस्था लागू गरिने घोषणा गर्दै यो कर कटौती दुई वर्षका लागि मात्र लागू हुने जानकारी दिइन्। त्यसपछि बिक्री कर पुनः ८ प्रतिशतमा कायम गरिने सरकारको योजना छ।
सन् १९८९ मा उपभोग कर लागू भएपछि पहिलो पटक खाद्यवस्तुमा यति ठूलो दरमा कर कटौती गर्न लागिएको हो। सरकारले मध्यपूर्वमा जारी द्वन्द्व, कमजोर बन्दै गएको येन र निरन्तर बढ्दो महँगीका कारण सर्वसाधारणलाई राहत दिन यस्तो निर्णय गरिएको जनाएको छ।
विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा सार्वजनिक ऋण भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दोब्बरभन्दा बढी पुगेको छ। यस्तो अवस्थामा कर कटौतीले सरकारी आम्दानीमा ठूलो असर पर्ने अनुमान गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुई वर्षका लागि बिक्री कर घटाउँदा करिब १० ट्रिलियन येन (झण्डै ६१ अर्ब अमेरिकी डलर) बराबरको राजस्व गुम्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री ताकाइचीले गुमेको राजस्व पूर्ति गर्न अन्य कर छुट तथा अनुदान कार्यक्रमहरूको पुनरावलोकन गरिने र अतिरिक्त सरकारी ऋणपत्र जारी नगरी आवश्यक स्रोत व्यवस्थापन गरिने स्पष्ट पारेकी छन्।
उल्लेखनीय रूपमा, ताकाइचीले गत फेब्रुअरीमै खाद्य तथा पेय पदार्थमा लाग्ने बिक्री कर पूर्ण रूपमा हटाउने प्रतिबद्धता जनाएकी थिइन्। उक्त प्रतिबद्धता उनको चुनावी घोषणापत्रको प्रमुख एजेन्डामध्ये एक मानिएको थियो।