अघि बढ्दो शिक्षामा वडा १२ को साथ: श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई करिब २ लाख बराबरका शैक्षिक सामग्री हस्तान्तरण
स्पर्श खबर जितपुर बारा असार २६ गते: जीतपुरसिमरा उपमहानगरपालिका–१२ का वडा अध्यक्ष श्यामबाबु खाँ (चौधरी) ले वडाभित्र रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लाई करिब दुई लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।
विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले ल्यापटप १ थान, पंखा १५ थान, ब्लुटुथ स्पिकर १ थान, दराज, लकर तथा बाल विकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि विद्यालय ब्याग वितरण गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्यामबाबु खाँले गुणस्तरीय शिक्षाको विकासका लागि विद्यालयलाई आवश्यक सहयोग गर्दै आएको उल्लेख गरे। विद्यार्थीको पढाइ सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन यस्ता सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालय परिवारले वडा कार्यालय र वडा अध्यक्षप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरिएको विद्यालयले जनाएको छ।