रिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टर अध्यक्ष, बेलायतमा नेपालको प्रतिनिधित्व गर्ने
स्पर्श खबर जितपुर बारा असार २५ गते:
करिब साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दीपेन्द्र चौहान साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न साधारणसभाले चौहानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै उनलाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएको हो।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका प्रथम अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिवसमेत रहेका चौहान लामो समयदेखि मधेस प्रदेशको पत्रकारिता, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता तथा साप्ताहिक प्रकाशनहरूको सुदृढीकरणमा सक्रिय रहँदै आएका छन्। उनको चयनलाई पत्रकारिता क्षेत्रमा लामो योगदानको सम्मानका रूपमा समेत हेरिएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा तथा सदस्यमा तुला अधिकारी सर्वसम्मत चयन भएका छन्। साथै, समाजका संस्थापक एवं निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकको जिम्मेवारी दिने निर्णय पनि साधारणसभाले गरेको छ।
साधारणसभाले अध्यक्ष चौहानलाई आगामी जुलाई १५ देखि १९ सम्म बेलायतको वेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय साधारणसभामा नेपाल च्याप्टरको आधिकारिक प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि दिएको छ। उक्त सम्मेलनमा उनले नेपाल शाखाका गतिविधि, नेपालको पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रतासम्बन्धी चुनौती तथा भविष्यका सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुति दिनेछन्।
चौहानको नेतृत्वमा नेपाल च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकारिता सञ्जालसँग सहकार्य विस्तार गर्ने, नेपाली साप्ताहिक पत्रकारिताको विश्वव्यापी पहुँच बढाउने तथा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा नयाँ पहल हुने अपेक्षा गरिएको छ। विशेषगरी मधेस प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता मञ्चमा पुगेको यो नेतृत्वलाई नेपाली पत्रकारिताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।