जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा

स्पर्श खबर जितपुर बारा असार २५ गते:
जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व निर्वाचित भएको केही समयमै सङ्घभित्र विवाद सतहमा आएको छ। मनोनित सदस्य चयनको विषयबाट सुरु भएको भनिएको मतभेद अहिले विगतको महोत्सवको आय–व्यय हिसाब–किताबसम्म र समिति बनाएर हिसाब गर्ने सम्म पुगेपछि व्यापारी वृत्तमा व्यापक चर्चा सुरु भएको छ।
सङ्घको कार्यालयमा पदाधिकारीहरूबीच चर्काचर्की भएको चर्चा चलिरहँदा अध्यक्ष गजेन्द्र गुप्ताले भने विवादलाई सामान्य छलफलको रूपमा चित्रण गरेका छन्। स्पर्श खबरसँगको कुराकानीमा उनले, “हामी सबै बसेर मनोनित सदस्य चयनका विषयमा छलफल गरिरहेका थियौँ। सबै भूगोल र क्षेत्रलाई समेटेर अघि बढ्ने विषयमा छलफल भएको हो,” बताएका छन्।
तर अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष शिवजी शाहले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोले भने फरक सन्देश दिएको देखिन्छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा शाहले विगतमा सम्पन्न महोत्सवको आय–व्ययको हिसाब–किताब छानबिन गर्न छुट्टै समिति गठन हुनुपर्ने माग राखेको सुनिन्छ। भिडियो सार्वजनिक भएसँगै सङ्घभित्र पारदर्शिता, आर्थिक जवाफदेहिता र नेतृत्वबीचको विश्वासको विषय थप चर्चामा आएको छ।
अध्यक्षको भनाइ र वरिष्ठ उपाध्यक्षको सार्वजनिक अभिव्यक्तिबीच देखिएको फरकले अहिले जितपुरसिम्राका व्यापारी तथा व्यवसायीमा अनेक प्रश्न उठेका छन्। नयाँ नेतृत्वबाट व्यवसायीका हकहितको रक्षा र संस्थागत एकताको अपेक्षा गरेका व्यापारीहरू अहिले भने नेतृत्वभित्रै देखिएको मतभेदले निराश बनेका छन्।
स्थानीय व्यापारी राजकुमार गुप्ताले भने, “आफ्नै पदाधिकारीबीच कुरा नमिल्ने हो भने व्यापारीको समस्या कसरी समाधान हुन्छ? हामीले नयाँ नेतृत्वबाट धेरै आशा गरेका थियौँ, तर अहिलेको अवस्था हेर्दा निराशा बढेको छ।”
यता सामाजिक सञ्जालमा भाइरल भिडियो र अध्यक्षको भनाइबीच देखिएको फरकबारे सङ्घले आधिकारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरिसकेको छैन। मनोनित सदस्यको विषय, महोत्सवको हिसाब–किताब र पदाधिकारीबीचको सम्बन्धबारे उठेका प्रश्नले अहिले जितपुरसिम्राको व्यापारिक क्षेत्र तातेको छ।
यदि महोत्सवको हिसाब–किताब छानबिनको माग औपचारिक रूपमा अघि बढ्यो भने यसले सङ्घभित्रको विवादलाई अझ गम्भीर मोडमा पुर्‍याउने र नयाँ नेतृत्वको एकता तथा विश्वसनीयतामाथि थप परीक्षा खडा गर्ने देखिएको छ। माेहन शर्माकाे अगुवाइमा भएको महाेत्सवकाे हिसाब किताबकाे बारेमा हामीले ब्यापारीकाे बिचमा भनेका छाै महाेत्सवकाे छुट्टै समिति बनाएर छनबिन गर्नेछौं बिषयले भिडियो सुन सक्छौ ।