स्पर्श खबर जितपुर बारा असार ११ गते
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार सपथ ग्रहण तथा पदभार ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेको छ।

पदभार ग्रहणकै दिन नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद गुप्ताले ९ सय ५७ सदस्य व्यवसायीलाई प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने ऐतिहासिक निर्णय सार्वजनिक गर्दै आफ्नो कार्यकालको दमदार सुरुवात गरेका छन्।
जीतपुरस्थित संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। मुख्य निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने निवर्तमान अध्यक्ष मोहन शर्माले अध्यक्ष गजेन्द्र गुप्तालाई पदभार हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष मोहन शर्माले विभिन्न चुनौती र दबाबका बीच उद्योगी–व्यवसायीको हितमा निरन्तर काम गर्दै संस्थालाई यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित संघले निजी क्षेत्रका आवाजलाई बुलन्द गर्दै आएको उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष गजेन्द्र गुप्ताले व्यवसायीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै सदस्यता नवीकरण गरेका ९ सय ५७ जना व्यवसायीका लागि दुर्घटना बीमा योजना लागू गरिने घोषणा गर्नुभयो। सम्बन्धित बीमा कम्पनीसँग सम्झौता सम्पन्न भइसकेको र असार १४ गतेदेखि योजना लागू हुने जानकारी दिँदै उहाँले यो निर्णय व्यवसायीहरूको सुरक्षाप्रति संघको प्रतिबद्धताको प्रतीक भएको बताउनुभयो।

अध्यक्ष गुप्ताले हाल साना तथा मझौला व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको कर्जा, बजार मन्दी, घट्दो आर्थिक गतिविधि र लगानीको असुरक्षाजस्ता समस्याबाट आक्रान्त रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि सम्बन्धित निकायसँग सशक्त पहल गरिने प्रतिबद्धता जनाउनुभयो। व्यवसायीमैत्री वातावरण निर्माण, उद्योग प्रवर्द्धन र लगानी आकर्षणलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको घोषणा रहेको छ।
प्रमुख अतिथि अशोक टेमानीले पदभार ग्रहण गरेकै दिन व्यवसायीको सुरक्षासँग जोडिएको बीमा कार्यक्रम घोषणा गर्नु नयाँ नेतृत्वको सकारात्मक र दूरदर्शी कदम भएको बताउनुभयो। जीतपुरसिमरा प्रदेशकै महत्वपूर्ण औद्योगिक केन्द्र भएकाले यहाँका उद्योगी–व्यवसायीको हकहितका लागि आफू सधैँ सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा निर्वाचन समितिलाई नवनिर्वाचित अध्यक्ष गुप्ताद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो। उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नयाँ नेतृत्वप्रति आशा, भरोसा र उत्साह देखिएको थियो।
उल्लेखनीय रूपमा, असार ७ गते सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र प्रसाद गुप्ता, वरिष्ठ उपाध्यक्षमा शिवजी साह, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार, महासचिवमा प्रकाश गिरी लगायत गजेन्द्र प्यानलका सम्पूर्ण उम्मेदवार विजयी भएका थिए। नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका समस्याको समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।