वाचाअनुसार काम सुरु : अध्यक्ष गुप्ताद्वारा ९५७ व्यापारीको १ लाख रुपैयाँ बीमा
स्पर्श खबर जितपुर बारा असार ११ गते:
जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष गजेन्द्र कुमार गुप्ताले निर्वाचनअघि गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सङ्घमा आबद्ध ९५७ व्यापारी तथा व्यवसायिक फर्मलाई प्रतिफर्म १ लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेका छन्।

यस कदमप्रति व्यापारी समुदायले खुसी व्यक्त गरेका छन्। व्यापारी राजेश शाह ले निर्वाचनका बेला अध्यक्ष गुप्ताले जितेपछि नयाँ र व्यापारीमैत्री काम गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उक्त वाचा पूरा भएकोमा खुसी व्यक्त गरे।
त्यस्तै, व्यवसायी चिरञ्जीवी गुप्ता ले जितपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको इतिहासमै व्यापारीको हकहितका लागि गरिएको यो महत्वपूर्ण र उदाहरणीय कार्य भएको बताए। उनले नयाँ नेतृत्वले सुरुमै व्यापारीको सुरक्षालाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश दिएको उल्लेख गरे।
अध्यक्ष गुप्ताले दर्ता तथा नवीकरण भएका सबै ९५७ फर्मलाई बीमाको दायरामा ल्याइएको जानकारी दिँदै आगामी दिनमा पनि व्यापारीको हित, सुरक्षा र व्यवसायिक उन्नतिका लागि थप प्रभावकारी कार्यक्रम ल्याइने बताएका छन्।
निर्वाचन जितेको छोटो समयमै प्रतिबद्धता कार्यान्वयन भएपछि व्यापारी समुदायमा नयाँ नेतृत्वप्रति विश्वास र उत्साह थपिएको देखिएको छ।