घरघरमै स्वास्थ्य सेवा : जितपुरसिमराको अभियानले जनतामा खुशी
मनाेज शाह जितपुर बारा जेठ ९ गते:
जितपुरसिमरा उपमहानगरपालिकाले “घरघरमा नगर अस्पताल” कार्यक्रम सञ्चालन गरेपछि स्थानीयबासी उत्साहित बनेका छन्। २४ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा पुर्याउने अभियानलाई तीव्रता दिएको हो।
मेयर राजन पौडेल को अगुवाइमा सञ्चालन भइरहेको कार्यक्रममा हजारौं नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिइरहेका छन्। जेठ १७ गतेदेखि सुरु भएको अभियान हाल वडा नं. १७ मा जारी रहेको छ।
स्थानीय सुकु रामले मेयरको पहलको खुलेर प्रशंसा गर्दै भने, “दलित, गरिब र असहायका लागि बल्ल एउटा राम्रो कार्यक्रम आएको छ, म धन्यवाद दिन चाहन्छु।”
निःशुल्क चेकजाँचमा खटिएका डाक्टर राहुल शाह ले समुदायमा विशेषगरी चिनी रोग र मुटुसम्बन्धी समस्या बढी देखिएको बताए।
यस्तै स्वास्थ्य प्रमुख रवि भास्कर ले समुदायमै नसर्ने रोगको पहिचान, नगर अस्पतालसँग नागरिकको पहुँच विस्तार तथा स्वास्थ्य बीमा कार्यक्रममा सहज जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार हालसम्म करिब ४ हजार नागरिकको स्वास्थ्य परीक्षण भइसकेको छ।
“घरघरमा नगर अस्पताल” कार्यक्रमले स्थानीय तहबाट जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदाहरणीय काम गरेको भन्दै चारैतिर प्रशंसा भइरहेको छ।