बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी भारी मतान्तरले विजयी
मनोज साह जितपुर बारा फागुन २४ गते:
बारा क्षेत्र नम्बर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ७ हजार १ सय २३ मत प्राप्त गरेका छन्।
यससँगै बारा क्षेत्र नम्बर ४ मा रास्वपाले उल्लेखनीय जित हासिल गरेको छ। यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ र उपनिर्वाचन २०८० मा बारा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र ३ मा एमाले, क्षेत्र नम्बर २ मा जसपा र क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए।
तर यसपटकको निर्वाचनमा भने रास्वपाका उम्मेदवार रहबर अन्सारीले भारी मतान्तरसहित जीत दर्ता गर्दै क्षेत्र नम्बर ४ को राजनीतिक समीकरण परिवर्तन गरेका छन्।