निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडप
मनोज शाह जितपुर बारा फागुन १७ गते:
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिप्ने बिर्तामा रहेको हिमालयन डिक्सनरी प्रालिले निर्वाचनको मुखमा नेता, प्रहरी, प्रशासन तथा कर्मचारीलाई रक्सी वितरण गरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्।

स्थानीय युवा सजय पटेलका अनुसार जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री तथा वितरणमा रोक लगाउने सूचना जारी गरे पनि उद्योगले उक्त निर्देशनलाई बेवास्ता गर्दै गोप्य रूपमा रक्सी वितरण गरेको आरोप छ। “सिडिओ कार्यालयले प्रतिबन्ध लगाएको भए पनि उद्योगले खुल्लमखुल्ला दारु बाँडिरहेको छ,” उनले बताए।

उद्योगमा कार्यरत एक कर्मचारीले नाम नछाप्ने सर्तमा होली पर्वको अवसर पारेर उद्योगबाट मदिरा वितरण हुने गरेको स्वीकार गरेका छन्। “हामी काम गर्ने कर्मचारीलाई पनि वितरण हुन्छ, सबैले पाउँछन्,” ती कर्मचारीले बताए।
स्थानीयका अनुसार उद्योगबाट राति मदिरा लगिएको र मजदुरहरू होटलमा बसेर सेवन गरिरहेको अवस्थामा विवाद उत्पन्न भई झडपसमेत भएको थियो। जगन्नाथपुर चोकमा राति नै झडप भएको स्थानीय युवा शिव मङ्गल यादवले जानकारी दिए।
स्थानीय रमेश पासवानले प्रशासनको निर्देशनविपरीत उद्योगहरूले लुकिछिपी मदिरा वितरण गर्दै कानुनको धज्जी उडाइरहेको आरोप लगाए। “निर्वाचनको समयमा रोक लगाइएको छ तर उद्योगहरूले अटेर गर्दै वितरण गरिरहेका छन्,” उनले भने।
यस विषयमा उद्योग प्रशासनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको जनाइएको छ। घटनाबारे प्रशासनको आधिकारिक धारणा आउन बाँकी रहेको छ।