राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

स्पर्श खबर जितपुर बारा मंसिर ४ गते:

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा आज मिति २०८२/०७/०४ गते प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, मुख्य सचिव, प्रधान सेनापति लगायतका सदस्यहरूको उपस्थिति थियो। बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा समीक्षा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा पर्दै आएका जोखिम, चुनौती र आगामी दिनमा आवश्यक रणनीतिजन्य तयारीबारे विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन (आ.व. ०८१/८२) को मसौदामा रहेका सुझाव तथा आवश्यक संशोधनसमेत स्वीकृत गरेको जनाएको छ। साथै नेपाल सरकारलाई नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम प्रतिवेदन सम्बद्ध समन्वित सुरक्षा योजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मिति २०८२ साल फागुन २१ गते हुने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य देशको छनोट, मतदान र सहभागी सम्बन्धी विषयमा प्रभावकारी समन्वयका लागि आवश्यक तयारीका बारेमा पनि बैठकले सरकारलाई निर्देशन दिएको छ।

बैठकले संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्नुपर्ने अवस्था उत्पन्न भएको खण्डमा नेपाल सरकार, मन्त्रिपरिषद्ले सैनिक परिचालनसम्बन्धी निर्णय गर्न सक्ने निष्कर्षसहित छलफल सम्पन्न गरेको जनाइएको छ।