सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग

बारा जिल्लामा सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहा टोल निवासी प्रदीप कुशवाहालाई प्रहरीले “बर्ताको बहाना”मा बोलाई अपराधिक उपद्रव मुद्दा लगाएर पक्राउ गरेको समाचार बाहिर आएको छ।

स्थानीय स्रोतका अनुसार, कुशवाहा सामाजिक क्षेत्रमा सक्रिय अभियन्ता हुन् र विभिन्न सामाजिक विषयमा जनचेतना अभियान चलाउँदै आएका छन्। उनलाई पक्राउ गरिएको घटनाले स्थानीयवासी र सामाजिक अभियन्ताहरूमा गम्भीर आक्रोश र चिन्ता उत्पन्न गरेको छ।

स्थानीय नागरिकहरूका अनुसार, कुशवाहालाई योजनाबद्ध रूपमा फसाइएको हुनसक्ने आशंका गरिएको छ। “अधिकार माग्दा मुद्दा लगाउने प्रवृत्ति बढ्दै गएको छ, यो जनप्रतिनिधिहरूको दुरुपयोगको संकेत हो,” एक स्थानीय बासिन्दाले बताए।

सामाजिक सञ्जालमा पनि कुशवाहाको गिरफ्तारीप्रति विरोध जनाइँदै न्यायिक छानबिन र निष्पक्ष अनुसन्धानको माग गरिएको छ।

“न्याय मरेको हो कि? समाजमा आवाज उठाउने युवालाई मुद्दा लगाएर थुन्ने प्रवृत्तिले लोकतन्त्रकै मर्म माथि प्रहार गरेको छ,” अर्को अभियन्ताले भने।

यस घटनाबारे प्रहरीले भने आधिकारिक प्रतिक्रिया दिएको छैन। स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने माग उठिरहेको छ।