बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोप

बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोप
स्पर्श खबर, जितपुर (बारा), असोज २१ गते।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित भगवती स्टिल प्रालिमा मजदुर र सञ्चालकबीचको विवाद तीव्र बनेको छ। विवादका कारण कम्पनीले उद्योगको गेटमा नोटिस टाँसी उद्योग बन्द गरेको छ, जसका कारण करिब २२० जना मजदुर अलपत्र परेका छन्।

मजदुरहरूले कम्पनीले बोनस र अन्य सुविधामा अन्याय गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सञ्चालक पक्षले वार्ता वा छलफलको सट्टा ‘दादागिरी’का भरमा उद्योग बन्द गरेको हो।

तीन दशकदेखि उद्योगमा कार्यरत मजदुर सत्यनारायण साहले भने, “म ३३ वर्षदेखि यही उद्योगमा काम गर्दै आएको छु। मेरो परिवारको रोजगारी यही उद्योगसँग जोडिएको छ। अहिले उद्योग बन्द भएपछि हामी कहाँ जाने?”

अर्का मजदुर रामधारी चौधरीले भने, “हामी सबै काम गर्न तयार छौँ, तर उद्योगको तर्फबाट गेटमा नोटिस टाँसी हामीलाई बाहिरै राखिएको छ। यो सरासर अन्याय हो।”

उद्योग बन्द भएपछि मजदुरहरू दैनिक रूपमा उद्योग परिसर नजिकै भेला भएर असन्तोष व्यक्त गर्दै आएका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उद्योग तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।

यस सम्बन्धमा उद्योग व्यवस्थापन पक्षसँग सम्पर्क गर्न खोज्दा फोन उठाइएन।