विकासका लागि युवाहरुलाई तालिम
स्पर्श खबर, जितपुर (बारा), असोज २० गते।
जितपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको हिन्दू स्वयंसेवक सङ्घ नगर कमिटीले युवाहरूको सर्वांगीण विकासका लागि सात दिने विशेष तालिम सञ्चालन गरेको छ।
आजदेखि सुरु भएको उक्त तालिममा बारा र पर्सा जिल्लाका करिब ७५ जना युवाहरू सहभागी रहेका छन्। तालिमको उद्देश्य युवाहरूको बौद्धिक, शारीरिक र सामाजिक विकास गर्नका साथै समाजमा फैलिएका विभिन्न विकृति र विसङ्गति न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ।
नगर कमिटीका अध्यक्ष मुकेश गुप्ताका अनुसार, “हाम्रो लक्ष्य युवाहरूलाई आत्मनिर्भर, अनुशासित र समाजप्रति उत्तरदायी बनाउनु हो। त्यसकै लागि यो तालिम आयोजना गरिएको हो,” उनले बताए।
सात दिनसम्म चल्ने यो तालिम अन्तर्गत शारीरिक अभ्यासहरू शान्तिटोल मैदानमा गराइने छन् भने बौद्धिक सत्रहरू फकिरागिरी–राईश्वर गिरी विद्यालयमा सञ्चालन हुने बताइएको छ।
कार्यक्रममा विभिन्न विषयका प्रशिक्षकहरूले सहभागीलाइ नेतृत्व विकास, समय व्यवस्थापन, राष्ट्रिय भावना सुदृढीकरण लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नेछन्।


