नबिल बैंक मधेस प्रदेश शाखाका कार्यरत साहकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए

सन्तोषकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए

स्पर्श खबर जितपुर बारा चैत १६ गते । सन्तोष कुमार साहको साहसिक र मानवीय कदमले शनिवार बिहान तीन जनाको जीवन जोगाएको छ । नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत साहले सडक दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई समयमै अस्पताल पुर्‍याएर मानवताको अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।जितपुरसिमरा वीरगञ्ज फर्कने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । दुर्घटनापछि वरपर रहेका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने समयमा एम्बुलेन्सको व्यवस्था समेत हुन सकेको थिएन ।त्यही क्रममा सन्तोष कुमार साहले आफ्नो निजी गाडी रोकी घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याए । प्रहरीका अनुसार साहले देखाएको तत्परता र मानवीय कदमकै कारण घाइतेहरूको जीवन जोगिएको हो ।घटनास्थलमा रहेका सुशील बिडारीका आफन्तले भने, “उहाँ समयमै नआएको भए जे पनि हुन सक्थ्यो । उहाँले ठूलो मानवता देखाउनु भयो ।” अस्पतालका चिकित्सकहरूले पनि समयमै उपचार नपाएको भए ठूलो क्षति हुनसक्ने बताएका छन् ।घाइतेहरू अहिले उपचाररत छन् र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । सङ्कटको समयमा सहयोगी बन्न सक्दा जीवन बदल्न सकिने सन्देश दिँदै सन्तोष कुमार साहले भने, “मानवताको मापन गर्ने समय यही हो, म आफ्नो कर्तव्य निभाउन सफल भएँ ।”सन्तोष कुमार साहको कार्यलाई स्थानीयहरूले प्रशंसा गरेका छन् । सङ्कटको घडीमा साहको सहयोगले मानवता अझै जीवित रहेको प्रमाणित गरेको जितपुरबासीकाे धारणा रहेको छ ।