धनगढी —फ्रेन्ड्स क्लब डडेलधुराले शनिबारदेखि सुरु अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्यो ।
डडेलधुराले १ सय ३३ रनको लक्ष्य १५.५ ओभरमै पुरा गर्यो । प्लेयर अफ द म्याच कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित इनिङ्स खेले । विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । अमित श्रेष्ठले ३२, निरज ऐरले २७, कप्तान नारायण जोशीले १५ रन बनाए । डडेलधुराका राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि बिष्टले २/२ तथा हेमन्त धामीले १ विकेट लिए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए । गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउने छन् ।सभार कान्तिपुर । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।