पर्साको नगवामा वृक्षरोपण कार्यक्रम सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते :

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ नगवामा आज वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जमा रहेको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले वीरगन्ज-१६ नगवामा अवस्थित नेपाल प्रौढ संघ नामक वृद्धाश्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण संरक्षणका लागि वृक्षरोपण कार्य अति महत्त्वपूर्ण रहेको कुरामा जोड दिँदै उक्त कार्यक्रममा सहभागी भएका महानुभावहरुले बिरुवा रोप्नुको साथै आआफ्नो मन्तव्य समेत प्रकट गरेका थिए । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका-१६ का वडाध्यक्ष पर्शुराम चौरसिया, विशिष्ट अतिथि डाक्टर वीरेन्द्र प्रधान, नन्द राउत अहिर, प्रतिष्ठानका वरिष्ठ सल्लाहकार एवम् समाजसेवी प्रकाश उपाध्यायको सहभागिता रहेको थियो । यसैगरी उक्त कार्यक्रममा अतिथिहरु लालबाबु सिंह , ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दिपिन थापा लगायत शिक्षक, पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

विगतमा प्रकृतिसँगको खेलवाड, प्राकृतिक स्रोतको चरम दोहनजस्ता मानवीय क्रियाकलापले गर्दा वर्तमान समयमा खानेपानी अभावको विकराल अवस्थासँग जुध्न संघर्ष गर्न बाध्य भएकोले भविष्यमा यो समस्याको सामना गर्नु नपरोस् भन्ने उद्देश्यले वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको र वातावरण संरक्षणमा यसले टेवा पुर्‍याउने सबैको निर्क्यौल रहेको थियो ।