बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ

बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ

रन्जित चौधरी, बारा, असार ११ गते:

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा खटिएका प्रहरीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा खैरो हेरोइन (ब्राउन सुगर) लुकाइराखेको अवस्थामा फेला पारेपछि तिन जनालाई पक्राउ गरेको छ ।

वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुवाहक बसलाई बाराको सिमरामा रोकेर चेकजाँच गर्ने क्रममा सोही बसको चालकको सिटमुनि लुकाएर राखिएको ९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको हो । प्रहरीले लागुपदार्थ ओसारपसार कसुरमा सोही बसका चालक तथा सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तिनैजना पर्सा जिल्ला निवासी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बसका चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ निवासी मुनीलाल प्रसाद रौनियार, सोही बसका सहचालक पर्साको पोखरिया नगरपालिका -२ का १९ वर्षीय दीपेन्द्र शर्मा र अर्का सहचालक पर्साको पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ खेस्राहा निवासी १९ वर्षीय भीम गिरी रहेका बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका तिनै जनालाई प्रहरी हिरासतमा राखेर निजहरुविरुध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बाराका प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।