रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ

रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ

रन्जित चौधरी, बारा, असार ११ गते :

बाराको कलैयामा अवस्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गत जेष्ठ ३२ गते गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न ७ जनालाई पक्राउ गर्न सफल भएको छ ।

क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ निवासी महन्थ महतोको ३२ वर्षीय छोरा अवधलाल प्रसाद कुशवाहा, सोही ठाउँ निवासी जितन महतोको २९ वर्षीय छोरा चानंदसी कुशवाहा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ का प्रेमलाल साहको २७ वर्षीय छोरा चुल्हाई भन्ने श्रवणकुमार साह, सियाराम राउत कुर्मीको ३४ वर्षीय छोरा राधेश कुमार पटेल र रामचन्द्र राउतको ५४ वर्षीय छोरा बिनोद राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका -१० मटिअर्वा निवासी मोहन रामको ५० वर्षीय छोरा आम्रपाली भन्ने ब्रह्मदेव राम, करैयामाई गाउँपालिका -७ पिपरा निवासी महादेव साह थारुको ५० वर्षीय छोरा मोतीलाल चौधरी रहेका छन् । क्याम्पस प्रमुखको हत्यामा संलग्न सातैजनालाई कर्तव्य ज्यान, हातहतियार खरखजाना मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको तथा फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।